प्रस्‍थान 18:13-23

प्रस्‍थान 18:13-23 NNRV

भोलिपल्‍ट मोशा मानिसहरूका निम्‍ति न्‍याय गर्नलाई बसे। मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्‍म मोशाको वरिपरि आए। मोशाले मानिसहरूका निम्‍ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्‍ति गरेको के काम हो? किन तिमी मात्र न्‍याय गर्न एकलै बसिरहन्‍छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्‍म तिम्रो वरिपरि उभिरहन्‍छन्‌?” मोशाले आफ्‍ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्‍वरको इच्‍छा बुझ्‍न आउँछन्‌। तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्‍यसको भाइबन्‍धुको बीचमा म न्‍याय गरिदिन्‍छु, अनि म तिनीहरूलाई परमेश्‍वरका विधिविधानहरू बताइदिन्‍छु।” मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन। तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्‍ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्‍नेछैनौ। मेरो कुरा सुन, म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्‌। तिमीचाहिँ परमेश्‍वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू। तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्‍य तिनीहरूलाई सिकाइदिनू। तर सबै मानिसहरूमध्‍येबाट परमेश्‍वरको भय मान्‍ने, योग्‍य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्‍यक्तिहरू होऊन्‌। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर। तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ता भएर सेवा गरून्‌। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्‍याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्‍साफ गरून्‌। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्‌नेछन्‌। तिमीले यो उपाय गर्‍यौ भने र परमेश्‍वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्‍न सक्‍नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्‍नो घरमा चित्त बुझाएर जानेछन्‌।”