प्रस्‍थान 14:5-16

प्रस्‍थान 14:5-16 NNRV

जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्‍यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्‌लियो। उनीहरूले भने, “यो हामीले के गर्‍यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!” अनि उनले आफ्‍नो रथ तयार गरेर आफ्‍नो सेनालाई साथमा लिए। उनले छ सय असल-असल रथहरू र मिश्रका अरू सारा रथहरू र ती सबैमाथिका अधिकृतहरू पनि लिए। अनि परमप्रभुले मिश्रका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र उनले साहससँग हिँड़िरहेका इस्राएलीहरूलाई खेदे। तब मिश्रीहरू, अर्थात्‌ फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए। जब फारो बढ़ेर आए, तब इस्राएलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछिपछि आइरहेका देखे। इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे। तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहानहरू थिएनन्, र तपाईंले हामीलाई यस उजाड़-स्‍थानमा मर्नलाई ल्‍याउनुभयो? हामीलाई मिश्रबाट ल्‍याएर यो के गर्नुभयो? के मिश्रमा ‘हामीलाई मिश्रीहरूको सेवा गर्न छोड़िदिनुहोस्‌’ भनी हामीले तपाईंलाई भनेका थिएनौं र? उजाड़-स्‍थानमा मर्नुभन्‍दा त हामीलाई मिश्रीहरूकै सेवा गर्न असल हुने थियो।” मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्‍थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्‍यै देख्‍नेछैनौ। परमप्रभु नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। तिमीहरू केवल स्‍थिर बस।” तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ किन मेरो पुकारा गर्छस्‌? इस्राएलीहरूलाई अगि बढ्‌ने आज्ञा दे। तैंले चाहिँ आफ्‍नो लहुरो उठाएर आफ्‍नो हात समुद्रतिर पसारेर त्‍यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्‌।