फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर। तिमीहरूले भनेबमोजिम आ-आफ्ना भेड़ाबाख्रा र गाईबस्तु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।” मिश्रीहरूले इस्राएलीहरूलाई देशबाट झट्टै पठाउन हतार गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौं।” यसैले इस्राएलीहरूले आ-आफ्नो मुछेको पीठो खमिर हाल्न अघि नै उठाए, र तिनीहरूले आ-आफ्नो मुछ्ने भाँड़ाहरू लुगामा बाँधेर काँधमा हाले। मोशाले भनेबमोजिम इस्राएलीहरूले गरे, र तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगाफाटा मागे। परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूप्रति कृपालु बनाइदिनुभएको थियो, र मिश्रीहरूले तिनीहरूलाई मागेअनुसार सबै दिए। यसरी तिनीहरूले मिश्रीहरूलाई लुटे। इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्ने मानिसहरू थिए। तिनीहरूका साथमा अरू मानिसहरू र थुप्रै भेड़ाबाख्रा र गाईबस्तु पनि लगे। तिनीहरूले आफूसाथ मिश्रबाट ल्याएको, मुछेको पीठोको अखमिरी रोटी बनाए। त्यो खमिरा भएको थिएन, किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्ना निम्ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्। इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो। चार सय तीस वर्ष बितेकै दिन परमप्रभुका सम्पूर्ण दलहरू मिश्रबाट निस्के। तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउन त्यस रात परमप्रभु जागरण बस्नुभएकोले, इस्राएलीहरूले पनि त्यही रात जागरण बसी पुस्तौँसम्म परमप्रभुलाई आदर गरून्। परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार-चाड़का विधिहरू यी नै हुन्: “कोही विदेशीले त्यसबाट नखाओस्। तर किनिएको हरेक कमाराले खतना गरेपछि मात्र खाओस्, तर परदेशी र ज्यालादारी नोकरले त्यो नखाओस्। “त्यो एउटै घरमा खाइनेछ। त्यसको मासुबाट केही पनि घरबाट बाहिर नलैजानू, न त त्यसका कुनै हाड़ भाँच्नू। इस्राएलको सारा समुदायले त्यो पालन गरोस्। “तँसित प्रवास गर्ने कोही परदेशी छ, र परमप्रभुको निस्तार-चाड़ मनाउन त्यसले इच्छा गर्छ भने, त्यसको घरका सबै पुरुषको खतना होस्। तब त्यसले त्यो देशमै जन्मेको जस्तो गरी सो चाड़मा भाग लिन सक्छ। खतना नभएको कुनै मानिसले त्यो नखाओस्। स्वदेशी र तिमीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान नियम हुनेछ।” परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार सारा इस्राएलीहरूले गरे। ठीक त्यही दिन इस्राएलीहरूलाई तिनीहरूका दल-दल गरी परमप्रभुले मिश्रबाट निकालेर ल्याउनुभयो।
प्रस्थान 12 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 12:31-51
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू