प्रस्‍थान 12:21-28

प्रस्‍थान 12:21-28 NNRV

तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्‍नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्‍तार-चाड़का बलिको निम्‍ति मार। हिसपको झुप्‍पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा छ्याप्‍नू। तिमीहरूमध्‍ये कोही पनि बिहानसम्‍म घरको ढोकाबाहिर ननिस्‍कनू। जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा रगत देख्‍नुहुनेछ, र त्‍यस ढोकालाई छोड़ेर, निस्‍तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्‍न दिनुहुन्‍न। “तिमीहरूले यी कुरा सदाको निम्‍ति एक रहिरहने विधि स्‍वरूप आफू र आफ्‍ना भावी सन्‍तानका लागि मान्‍नू। जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्‍नेछौ, तब तिमीहरूले यो चाड़ मान्‍नू। जब तिमीहरूका छोराछोरीले यस चाड़को अर्थ के हो भनी सोध्‍छन्, तब तिमीहरूले भन्‍नू, ‘यो परमप्रभुको निस्‍तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्‌नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे।