प्रस्‍थान 10:20-29

प्रस्‍थान 10:20-29 NNRV

तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्‌। फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्‍यारो भइजाओस्‌। छाम्‍दा थाहा पाउनेजस्‍तो अन्‍धकार होस्‌।” अनि मोशाले आफ्‍नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्‍म निस्‍पट्ट अन्‍धकार भयो। तीन दिनसम्‍म न त कसैले कसैलाई देख्‍न सक्‍यो, न कोही आफ्‍नो ठाउँबाट उठ्‌न सक्‍यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्‍यालै रह्यो। तब फारोले मोशालाई बोलाउन पठाए, र भने, “जाओ, तिमीहरू आफ्‍ना परमप्रभुको आराधना गर। केवल तिमीहरूका भेड़ाबाख्रा र गाईबस्‍तुहरू छोड़िराख। तिमीहरूका आइमाई र बालबच्‍चाहरू पनि तिमीहरूसँगै जाऊन्‌।” तर मोशाले भने, “परमप्रभु हाम्रा परमेश्‍वरको निम्‍ति बलि गर्नलाई तपाईंले हाम्रा हातमा बलिका सामग्री र होमबलि लिन पनि दिनुपर्छ। हाम्रा गाईबस्‍तुहरू पनि हामीसँगै जानेछन्, र एउटा खुर पनि पछि छोड़िनु हुन्‍न। तिनीहरूमध्‍येकै कुनै-कुनै हामीले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई पुज्‍नलाई चढ़ाउनुपर्नेछ। जबसम्‍म हामी त्‍यहाँ पुग्‍दैनौं तबसम्‍म हामीलाई थाहा हुँदैन कि के-के चढ़ाएर हामीले परमप्रभुलाई पुज्‍नुपर्छ।” तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्‌। तब फारोले मोशालाई भने, “मेरो सामुन्‍नेबाट गइहाल्‌। होशियार बस्, मेरो सामुन्‍ने फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास्‌ त्‍यो दिन तँ मर्नेछस्‌।” मोशाले भने, “तपाईंले भन्‍नुभएजस्‍तै होस्, म फेरि कहिल्‍यै तपाईंको मुख हेर्नेछैनँ।”