एफिसी 2:11-16

एफिसी 2:11-16 NNRV

यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्‍यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्‍दथे। याद राख, तिमीहरू त्‍यस बेला ख्रीष्‍टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ। तर तिमीहरू, जो त्‍यस बेला ख्रीष्‍ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्‍टको रगतले नजिक भएका छौ। किनकि उहाँ नै हाम्रो शान्‍ति हुनुहुन्‍छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्‍याउने शत्रुताको पर्खाल भत्‍काइदिनुभएको छ। र उहाँले व्‍यवस्‍थालाई त्‍यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्‍नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्‍टि गरून्, र यसरी शान्‍ति स्‍थापना होस्‌। अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्‍वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।