व्यवस्था 7:1-12

व्यवस्था 7:1-12 NNRV

जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, र तिमीहरूभन्‍दा असंख्‍य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूका सामुन्‍नेबाट उहाँले धपाउनुहुन्‍छ, अनि जब परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्‍छ र तिमीहरूले उनीहरूलाई परास्‍त गरेका हुन्‍छौ, तब तिमीहरूले उनीहरूलाई सम्‍पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्‍झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू। उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्‍ति नलिनू, किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्‍य देवताको पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई तत्‍कालै नष्‍ट पार्नुहुनेछ। तिमीहरूले उनीहरूसित यस्‍तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्‍काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्‍बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू। किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले पृथ्‍वीमा भएका सबै मानिसहरूमध्‍येबाट आफ्‍नो निम्‍ति एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति बनाउन तिमीहरूलाई छान्‍नुभएको छ। तिमीहरू संख्‍यामा अरू जातिहरूभन्‍दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्‍नुभएको होइन, किनकि तिमीहरू त संख्‍यामा सबै जातिहरूभन्‍दा कम थियौ। तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्‍नो बाहुबलद्वारा निकाली ल्‍याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्‍वको देशबाट छुटकारा दिनुभयो। यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर मात्र परमेश्‍वर हुनुहुन्‍छ, एक विश्‍वासयोग्‍य परमेश्‍वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्‍तामाथि उहाँले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ, र दया देखाउनुहुन्‍छ। तर उहाँलाई तिरस्‍कार गर्नेहरूलाई उहाँले अवश्‍य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्‍ब गर्नुहुनेछैन। यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञा, विधि र विधान होशियारीसाथ पालन गर। तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्‍तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो।