व्यवस्था 4:25-31

व्यवस्था 4:25-31 NNRV

तिमीहरूले छोराछोरी र नातिनातिना जन्‍माइसकेर त्‍यही देशमा धेरै वर्ष बसिसकेपछि पनि भ्रष्‍ट भएर कुनै वस्‍तुको आकृतिअनुसार प्रतिमा खोपेर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा कुकर्म गरेर उहाँलाई क्रोधित तुल्‍यायौ भने, म आजको दिन स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्ध साक्षी राख्‍तछु, कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जान लागेका छौ त्‍यस देशदेखि तिमीहरू चाँड़ै सम्‍पूर्ण नष्‍ट हुनेछौ, र धेरै दिन बस्‍न पाउनेछैनौ तर बिलकुलै नष्‍ट हुनेछौ। परमप्रभुले तिमीहरूलाई जाति-जातिका माझमा तितरबितर पार्नुहुनेछ, र उहाँले तिमीहरूलाई धपाउनुभएको देशमा अन्‍यजातिहरूका माझमा तिमीहरू अल्‍पसंख्‍यक हुनेछौ। त्‍यहाँ तिमीहरूले मानिसहरूका हातले बनाएका, देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने, खान नसक्‍ने, सुँघ्न नसक्‍ने काठ र ढुङ्गाका देवताहरूको पूजा गर्नेछौ। तर यदि त्‍यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले खोज्‍यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। पछिल्‍ला दिनहरूमा जब तिमीहरू सङ्कष्‍टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ। उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्‍नुभएको शपथद्वारा पक्‍का गर्नुभएको करार उहाँले भुल्‍नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्‍छ।