व्यवस्था 1:9-18

व्यवस्था 1:9-18 NNRV

त्‍यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्‍दिनँ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई वृद्धि गर्नुभएको छ, र आज तिमीहरू आकाशका ताराझैँ असंख्‍य भएका छौ। परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून्‌ र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष्‌ देऊन्! तर म कसरी तिमीहरूका समस्‍याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्‍न सक्‍छु र? तिमीहरूको हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्नेछु।” तिमीहरूले मलाई भन्‍यौ, “तपाईंले दिनुभएको सुझाव असल छ।” यसकारण मैले तिमीहरूका कुल-कुलका मुख्‍य मानिसहरूलाई चुनेँ। तिनीहरू सबै समझदार र अनुभवी मानिसहरू थिए, र तिमीहरूको हरेक कुलको निम्‍ति तिनीहरूलाई हजार, सय, पचास र दशका नायक नियुक्त गरें। कुल-कुलका निम्‍ति कुलनायकहरू पनि नियुक्त गरें। त्‍यस बेला मैले तिमीहरूका न्‍यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ: “तिमीहरूका भाइहरूका बीच भएका झगड़ा सुन र ठीक-ठीक न्‍याय गर, चाहे त्‍यो झगड़ा इस्राएली भाइहरूको होस्‌ अथवा तिनीहरूमध्‍ये एक जना र एक जना विदेशीको बीचमा होस्‌। न्‍याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्‍छेसँग नडराओ, किनकि न्‍यायको फैसला त परमेश्‍वरको हातमा हुन्‍छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्‍याओ, र म त्‍यो सुन्‍नेछु।” त्‍यस बेला तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले तिमीहरूलाई आज्ञा गरें।