दानिएल 6:19-28

दानिएल 6:19-28 NNRV

बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए। जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्‍वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?” दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌! मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।” राजा अत्‍यन्‍तै खुशी भएर दानिएललाई खोरबाट निकाल्‍ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्‍ना परमेश्‍वरमाथि भरोसा गरेका थिए। दानिएललाई झूटो आरोप लगाउने मानिसहरू राजाको हुकुममा भित्र ल्‍याइए र श्रीमती र नानीहरूसमेत उनीहरू सिंहको खोरमा फ्‍याँकिए। अनि उनीहरू खोरको भूइँमा नपुग्‍दै सिंहहरूले उनीहरूमाथि झम्‍टेर उनीहरूका हड्डीहरूसमेत कर्‍याककुरुक पारेर खाए। तब राजा दाराले साम्राज्‍यभित्रका हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूलाई यस्‍तो लेखे: “तिमीहरूलाई कल्‍याण होस्‌! म यो आदेश जारी गर्दछु कि मेरो राज्‍यभरका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मान्‍नु र आदर गर्नुपर्छ। “किनभने उहाँ जिउँदो परमेश्‍वर हुनुहुन्‍छ, र उहाँ सधैँभरि रहनुहुन्‍छ। उहाँको राज्‍य नष्‍ट हुनेछैन, उहाँका प्रभुत्‍वको अन्‍त कहिल्‍यै हुनेछैन। उहाँ छुटकारा दिनुहुन्‍छ र बचाउनुहुन्‍छ; उहाँ स्‍वर्गमा र पृथ्‍वीमा आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।” यसकारण दाराको राज्‍यकाल र फारसी कोरेसको राज्‍यकालमा दानिएलको उन्‍नति भयो।