दानिएल 4:5-18

दानिएल 4:5-18 NNRV

मैले एउटा यस्‍तो सपना देखें, जसले मलाई भयभीत तुल्‍यायो। जसै म ओछ्यानमा ढल्‍किरहेको थिएँ, मेरो मनमा आएका कल्‍पनाहरू र दर्शनहरूले गर्दा म तर्सिएँ। यसकारण त्‍यस सपनाको अर्थ खोल्‍नलाई बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मेरो सामुन्‍ने खड़ा गराउने हुकुम गरें। जब जादूगरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, ज्‍योतिषीहरू र जोखना हेर्नेहरू आए, मैले उनीहरूलाई सपना बताएँ, तर उनीहरूले मलाई त्‍यसको अर्थ बताउन सकेनन्‌। अन्‍तमा दानिएल मकहाँ आए र मैले तिनलाई सपना बताइदिएँ। (तिनको नाउँ मेरो देवताको नाउँजस्‍तै बेलतसजर हो, र पवित्र देवताहरूको आत्‍मा तिनमा छ।) मैले भने, “हे बेलतसजर, जादूगरहरूका प्रमुख, म जान्‍दछु कि तिमीमा पवित्र देवताहरूको आत्‍मा छ, र तिम्रो लागि कुनै पनि रहस्‍य अप्‍ठ्यारो छैन। सपना यही हो, यसको अर्थ मलाई बताइदेऊ। ओछ्यानमा पल्‍टिरहँदा मैले देखेका दर्शनहरू यी नै हुन्‌: मैले देखें, मेरो सामुन्‍ने पृथ्‍वीको बीचमा एउटा ठूलो रूख खड़ा भएको रहेछ। त्‍यो अत्‍यन्‍तै अग्‍लो थियो। त्‍यो रूख ठूलो र बलियो हुँदैगयो र त्‍यसको टुप्‍पोले आकाश छोयो, पृथ्‍वीको छेउसम्‍म पनि त्‍यो देखिन्‍थ्‍यो। त्‍यसका पातहरू सुन्‍दर र त्‍यसका फलहरू प्रशस्‍त थिए, र त्‍यसमा सबैको लागि खाना थियो। त्‍यसको मुनि वनका पशुहरूले वास पाउँथे, त्‍यसका हाँगाहरूमा चराहरू बस्‍थे, त्‍यसबाट सबै प्राणीहरूले खाना पाउँथे। “ओछ्यानमा पल्‍टिरहेको बेला मैले दर्शनमा मेरो अगि स्‍वर्गबाट एक समाचारवाहक, एक पवित्र जन तल आइरहेका देखेँ। उनले चर्को स्‍वरमा कराएर भने, “त्‍यस रूखलाई ढालिदे र हाँगाहरूलाई काटिदे, त्‍यसका पातहरू झारिदे र त्‍यसका फलहरू छरपष्‍ट पारिदे। पशुहरू त्‍यसको छहारीबाट र चराहरू त्‍यसका हाँगाबाट भागून्‌। तर फलाम र काँसाले बाँधिएको त्‍यसका ठुटो र जराहरू जमिनमा, खेतको घाँसमा नै रहोस्‌। “आकाशको शीतले त्‍यसलाई भिजाओस्, र त्‍यो पशुहरूसँग पृथ्‍वीका बोट-बिरुवाहरूका बीचमा रहोस्‌। त्‍यसको मन मानिसकोबाट बद्‌लिएर त्‍यसलाई पशुको मन दिइओस्, जबसम्‍म त्‍यसको लागि सात काल बित्‍नेछैनन्‌। “समाचार वाहकहरूद्वारा निर्णय सुनाइएको छ, पवित्र जनहरूले फैसलाको घोषणा गर्दछन्, ताकि जीवित प्राणीहरूले जानून्‌ कि मानिसहरूका राज्‍यमाथि सर्वाधिकार सर्वोच्‍चकै छ, र उहाँले इच्‍छा गर्नुभएकाहरूलाई ती राज्‍यहरू दिनुहुन्‍छ र मानिसहरूमा सबभन्‍दा नम्रलाई ती राज्‍यमाथि खड़ा गर्नुहुन्‍छ।” “म राजा नबूकदनेसरले देखेको सपना यही हो। अब हे बेलतसजर, यसको अर्थ मलाई बताइदेऊ, किनभने मेरो राज्‍यमा भएका ज्ञानी पुरुषहरूमध्‍ये कसैले पनि यसको अर्थ मलाई बताउन सक्‍दैन। तर तिमीले सक्‍छौ, किनभने पवित्र देवताहरूका आत्‍मा तिमीमा छ।”