दानिएल 11:36-45

दानिएल 11:36-45 NNRV

“त्‍यस राजाले जे मन लाग्‍यो त्‍यही गर्नेछ। उसले आफैलाई हरेक देवभन्‍दा माथि उचाल्‍नेछ र देवहरूका पनि परमेश्‍वरको विरुद्धमा कहिल्‍यै नसुनिएका कुरा गर्नेछ। क्रोधको समय समाप्‍त नहोउञ्‍जेल त्‍यो सफल हुनेछ, किनभने जे निश्‍चय गरिएको छ, त्‍यो पूरा हुनैपर्छ। आफ्‍ना पिता-पुर्खाहरूका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवको पनि उसले वास्‍ता गर्नेछैन, न त उसले कुनै पनि देवको वास्‍ता गर्छ, तर त्‍यसले आफैलाई ती सबैभन्‍दामाथि उचाल्‍नेछ। तिनीहरूका सट्टा उसले किल्‍लाहरूको एउटा देवतालाई मान गर्नेछ, आफ्‍ना पिता-पुर्खाले नजानेको देवतालाई सुन र चाँदी, बहुमूल्‍य पत्‍थरहरू र दामी उपहारहरू चढ़ाएर मान गर्नेछ। उसले एक विदेशी देवताको सहायताले सबैभन्‍दा शक्तिशाली किल्‍लाहरूमाथि आक्रमण गर्नेछ र उसलाई मान्‍नेहरूलाई उसले ठूलो सम्‍मान गर्नेछ। उसले उनीहरूलाई धेरै मानिसहरूमाथि शासकहरू तुल्‍याउनेछ र एउटा मूल्‍यमा जमिन वितरण गर्नेछ। “अन्‍तको समयमा दक्षिणका राजाले ऊसँग लड़ाइँ गर्नेछन्, र उत्तरको राजा रथहरू, घोड़चढ़ीहरू र धेरै जहाजहरू लिएर उनको विरुद्धमा आँधीझैँ आउनेछ। उसले धेरै देशहरूलाई आक्रमण गर्नेछ, ऊ बाढ़ीझैँ तिनीहरूमाथि बग्‍नेछ। उसले त्‍यस सुन्‍दर देशलाई पनि हमला गर्नेछ। धेरै देशहरूको पतन हुनेछ, तर एदोम, मोआब र अम्‍मोनका अगुवाहरूचाहिँ उसको हातबाट बचाइनेछन्‌। उसले धेरै देशहरूमाथि आफ्‍नो शक्ति फैलाउनेछ, मिश्रदेश उम्‍कनेछैन। उसले लिबियालीहरू र कूशीहरूलाई अधीनमा पारेर मिश्रदेशका सुन र चाँदी र सबै सम्‍पत्तिहरू आफ्‍नो नियन्‍त्रणमा लिनेछ। तर पूर्व र उत्तरबाट आएका खबरहरूले उसलाई तर्साउनेछन्‌ र ऊ अति क्रोधित भएर धेरैलाई विनाश र नामेट पार्न अगि बढ्‌नेछ। उसले त्‍यस सुन्‍दर पवित्र पर्वतमा समुद्रहरूका बीचमा आफ्‍ना राजकीय पालहरू खड़ा गर्नेछ। तापनि उसको अन्‍त हुनेछ र कसैले पनि उसलाई सहायता गर्नेछैन।