कलस्सी 2:1-7

कलस्सी 2:1-7 NNRV

तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि कसरी तिमीहरू र लाउडिकियामा भएकाहरू, र मेरा मुखै नदेख्‍ने सबैका खातिर म कठोर परिश्रम गर्दछु, कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्‍साहित होऊन्, र पक्‍का समझका परिपूर्णताको सम्‍पत्ति र परमेश्‍वरका रहस्‍यको ज्ञान, अर्थात्‌ ख्रीष्‍टलाई प्राप्‍त गरून्‌। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्‍पत्ति लुकेका छन्‌। म यो भन्‍दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्‌। किनकि शरीरमा म अनुपस्‍थित भए तापनि आत्‍मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्‍यवस्‍था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको स्‍थिरतामा म रमाउँदछु। यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ। धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।