प्रेरित 9:1-9
प्रेरित 9:1-9 NNRV
शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पूजाहारीकहाँ गए, र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे। जब शाऊल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो। तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?” तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्छ?” अनि उहाँले भन्नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ। तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।” तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्दा अवाक भई उभिरहे। तब शाऊल भूइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए। अनि तीन दिनसम्म तिनी नदेख्ने भए, र न त खाना खाए न पानी पिए।

