“तब परमप्रभुले तिनलाई भन्नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्थानमा तिमी खड़ा छौ, त्यो पवित्र स्थान हो। मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’
“यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्यायकर्ता तुल्यायो’ भनेर इन्कार गरेका थिए, तिनलाई परमेश्वरले पोथ्रामा देखा पर्ने स्वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्याएर पठाउनुभयो। यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र चिन्हहरू गरिकन तिनीहरूलाई बाहिर ल्याए।
“ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूमध्येबाट तिमीहरूका निम्ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’ यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए।
“हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्कार गरे। तिनीहरूले तिनलाई पन्छाएर मिश्रदेशमै फर्केर जाने मन गरे। तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्ने कोही देवताहरू हाम्रा निम्ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्याउने यी मोशालाई के कसो भयो हामी जान्दैनौं।’ ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्यसमा बलि पनि चढ़ाए, र आफ्ना हातको काममा खुशी मनाए। तर परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्डलको उपासना गर्न छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ,
‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्म
उजाड-स्थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ?
तिमीहरूले मोलोखको तम्बू र रेफन देवताको तारा,
र तिमीहरूले पुज्नलाई बनाएका मूर्तिहरू उठाइलग्यौ।
अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’
“उजाड-स्थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्वरको आदेशअनुसार यो बनिएको थियो। हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्यजातिहरूको देश अधिकारमा ल्याउँदा यहोशूको साथमा त्यो तम्बू ल्याए। दाऊदको पालोसम्मै त्यो त्यहीँ रह्यो। तिनले परमेश्वरको निगाह पाए, र याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान बनाउने अनुमति मागे। तर उहाँको निम्ति भवनचाहिँ सोलोमनले बनाए।
“तर हातले बनाएका भवनहरूमा परमेश्वर वास गर्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्,
‘मेरो सिंहासन स्वर्ग हो,
र पृथ्वी मेरो खुट्टाको पाउदान,
तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो? परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो?
के यी सबै थोक मेरै हातले बनाएका होइनन् र?’
“हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ। तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ। अगमवक्ताहरूमध्ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्या गरे। उहाँलाई तपाईंहरूले विश्वासघात गर्नुभयो, र उहाँको हत्या गर्नुभयो। ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईंहरूचाहिँ उहाँकै विश्वासघातक र ज्यानमारा हुनुभएको छ। स्वर्गदूतहरूले सुम्पेको व्यवस्था तपाईंहरूले पाउनुभयो, तर त्यसको पालन गर्नुभएन।”
जब तिनीहरूले यी कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रीसले दाह्रा किट्न लागे। तर तिनले चाहिँ पवित्र आत्माले भरिपूर्ण भईकन स्वर्गतिर एकटक लाएर हेरे, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देखे। तिनले भने, “हेर, स्वर्ग उघ्रेको म देख्छु, र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्तछु।”
तर तिनीहरू उच्च सोरले कराई उठे, र आ-आफ्ना कान थुने, र तिनीहरू एकसाथ तिनीमाथि झम्टे। तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्ना वस्त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे।
जसै तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्।” यति भनेर तिनले प्राण त्याग गरे।