छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरूकहाँ आए, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने, “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो, जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्नुभयो,
‘अन्यजातिहरू किन झोकिए,
र मानिसहरूले व्यर्थका कुराहरू किन कल्पना गरे?
परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा भए,
र शासकहरू एकसाथ भेला भए।’
किनभने साँच्चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। त्यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस्, र निको पार्नलाई तपाईंले आफ्नो बाहुली फैलाउनुहुँदा, आफ्ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कामहरू होऊन्।”
तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले।
विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए। ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्थानको गवाही दिन्थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो। तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्यो, किनकि जति जना जग्गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे, र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे।
अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो), उनले आफ्नो जमिन बेचे र त्यो रकम ल्याएर प्रेरितहरूका चरणमा राखिदिए।