प्रेरित 2:25-41
प्रेरित 2:25-41 NNRV
किनकि दाऊदले उहाँको विषयमा भन्दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ। यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ। किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्नो उपस्थितिद्वारा आनन्दले गद्गद् पार्नुहुनेछ।’ “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो, र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्नुहुन्छ। किनकि दाऊद त स्वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’ “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।” यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?” पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।” अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।” तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।

