प्रेरित 16:22-34

प्रेरित 16:22-34 NNRV

तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए। उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए। यस्‍तो हुकुम पाएर उनले तिनीहरूलाई झ्‍यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले। झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।” तब बत्ती मागेर उनी हामफाल्‍दै भित्र आए, र डरले काम्‍दै पावल र सिलासका अगाडि घोप्‍टो परे। तिनीहरूलाई बाहिर ल्‍याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।” तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए। तब रातको त्‍यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्‍तै बप्‍तिस्‍मा लिए। त्‍यसपछि तिनीहरूलाई घरमा ल्‍याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्‍वरमा विश्‍वास गरे भन्‍ने कुरामा उनका सारा परिवारसँग उनी आनन्‍दित भए।

प्रेरित 16:22-34 को लागि भिडियो