जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी। त्यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्दै चिच्च्याई, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्।” त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्क फर्की त्यस दुष्टात्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।” अनि त्यो दुष्टात्मा त्यही घड़ी निस्किहाल्यो। तर त्यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्दै लगे। अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्चाउँछन्। यिनीहरूले यस्ता-यस्ता प्रथाहरू सिकाउँछन् जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्यायसङ्गत छैन।” तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्त्र च्यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए। उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्यालखानमा हालिदिए, र झ्यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्ने हुकुम दिए। यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले। झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।” तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे। तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।” तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए।
प्रेरित 16 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 16:16-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू