प्रेरित 13:23-43

प्रेरित 13:23-43 NNRV

“यही मानिसको भावी सन्‍तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्‍वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्‍याउनुभयो। उहाँ आउनभन्‍दा अघि यूहन्‍नाले इस्राएलका सबै मानिसलाई पश्‍चात्तापका बप्‍तिस्‍माको प्रचार गरेका थिए। यूहन्‍नाले आफ्‍नो कार्य समाप्‍त गर्न लाग्‍दा भनेका थिए, ‘तिमीहरू के ठान्‍छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्‍म पनि फुकाल्‍ने लायकको म छैनँ।’ “ए, अब्राहामका वंशको सन्‍तान, र तिमीहरूमध्‍ये परमेश्‍वरको डर मान्‍ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्‍देश पठाइएको छ। किनभने यरूशलेमका बासिन्‍दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्‍डको आज्ञा दिई ती वचन पूरा गरे। ज्‍यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्‍ती गरे, र उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरेपछि तिनीहरूले उहाँलाई काठबाट झारेर चिहानमा राखे। तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। आफूसँग गालीलबाट यरूशलेममा आउनेहरूकहाँ उहाँ धेरै दिनसम्‍म देखा परिरहनुभयो, र उनीहरू अहिले जनतामा उहाँका साक्षी छँदैछन्‌। “परमेश्‍वरले पिता-पुर्खालाई गर्नुभएको त्‍यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्‍याउँछौं। अर्थात्, कसरी परमेश्‍वरले येशूलाई जीवित पारी उठाएर त्‍यो कुरो हामी, तिनीहरूका सन्‍तानका निम्‍ति पूरा गरिदिनुभयो, जस्‍तो दोस्रो भजनमा पनि लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्‍माएको छु।’ उहाँले ख्रीष्‍टलाई कहिले नसड्‌ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्‍नुभएको छ, ‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’ किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ, ‘तपाईंले आफ्‍ना पवित्र जनको शरीर सड्‌न दिनुहुनेछैन।’ “किनकि उनको आफ्‍नै पुस्‍तामा परमेश्‍वरको उद्देश्‍यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो। तर जसलाई परमेश्‍वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन। “यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्‍छ भन्‍ने घोषणा तपाईंहरूलाई गरिएको छ। तपाईं विश्‍वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्‍यवस्‍थाद्वारा तपाईंहरूका निम्‍ति सम्‍भव थिएन। यसकारण होशियार रहनुहोस्, नत्रता अगमवक्ताहरूका पुस्‍तकमा भनिएका यी कुरा तपाईंहरूमाथि आइपर्नेछन्‌: ‘हे निन्‍दा गर्ने हो, हेर र आश्‍चर्य मान, अनि नष्‍ट भइजाओ, किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु, यस्‍तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि तिमीहरूले कहिल्‍यै विश्‍वास गर्नेछैनौ’।” पावल र बारनाबास सभाघरबाट निस्‍केर जान लाग्‍दा आउँदो शबाथमा पनि यी कुरा सुनाइदिनुहोस् भनी मानिसहरूले तिनीहरूलाई बिन्‍ती गरे। सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्‍दै उनीहरूलाई परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।

प्रेरित 13:23-43 को लागि भिडियो