प्रेरित 12:5-11

प्रेरित 12:5-11 NNRV

यसरी पत्रुस झ्‍यालखानमा राखिए, तर तिनको निम्‍ति मण्‍डलीले परमेश्‍वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो। हेरोदले तिनलाई बाहिर निकालिल्‍याउन खोजेकै रात, पत्रुस दुई वटा साङ्‌लाले बाँधिएर दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अगिल्‍तिर उभिएर झ्‍यालखानको पहरा दिइरहेका थिए। अचानक प्रभुका एउटा स्‍वर्गदूत त्‍यहाँ देखा परे, र कोठरीमा ज्‍योति चम्‍क्‍यो। स्‍वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्‌लाहरू तिनका हातबाट फुस्‍केर खसे। स्‍वर्गदूतले तिनलाई भने, “लुगा लगाऊ, र जुत्ता लाऊ।” तब तिनले त्‍यसै गरे। उनले तिनलाई भने, “खास्‍टो ओढ़ेर मेरो पछिपछि लाग।” अनि तिनी निस्‍केर उनको पछिपछि लागे। स्‍वर्गदूतबाट गरिएको कुरो साँच्‍चीकै हो भन्‍ने तिनलाई थाहै भएन। तर दर्शन देख्‍दैछु भनी तिनले ठाने। जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्‍ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्‍यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्‍केर एउटा गल्‍लीको बाटो भएर गए, र तुरुन्‍तै स्‍वर्गदूत तिनलाई छोड़ेर गए। जब पत्रुसको होश खुल्‍यो तब तिनले भने, “अब मलाई साँच्‍ची नै थाहा भयो, कि प्रभुले आफ्‍ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्‍थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।”

प्रेरित 12:5-11 को लागि भिडियो