प्रेरित 11:11-19

प्रेरित 11:11-19 NNRV

“त्‍यति नै बेला कैसरियाबाट मकहाँ पठाइएका तीन जना मानिसहरू हामी बसेको घरमा आइपुगे। नहिचकिचाई तिनीहरूका साथमा जान मलाई पवित्र आत्‍माले भन्‍नुभयो। यी छ जना भाइहरू पनि मेरो साथ लागेका थिए, र हामी त्‍यस मानिसको घरमा पस्‍यौं। उनले हामीलाई बताए, कि एउटा स्‍वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्‍पामा मान्‍छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। उनले तिमीलाई वचन सुनाउनेछन्, जसद्वारा तिमीले उद्धार पाउनेछौ— तिमी र तिम्रा सारा परिवारले।’ “जब मैले बोल्‍न थालें, तब सुरुमा हामीमाथि ओर्लनुभएकोजस्‍तै पवित्र आत्‍मा तिनीहरूमाथि पनि ओर्लनुभयो। तब प्रभुले भन्‍नुभएको त्‍यो वचन मलाई याद भयो, ‘यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।’ प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा परमेश्‍वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्‍यही वरदान दिनुभएपछि परमेश्‍वरलाई रोक्‍न सक्‍ने म को हुँ र?” यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे, “अब त परमेश्‍वरले अन्‍यजातिहरूलाई पनि जीवनको निम्‍ति पश्‍चात्ताप दिनुभएछ।” स्‍तिफनसको सम्‍बन्‍धमा सुरु भएको सतावटको कारण जताततै छरपष्‍ट भएकाहरूले अरूलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै, फोनिके, साइप्रस र एन्‍टिओखियासम्‍म यात्रा गरे।

प्रेरित 11:11-19 को लागि भिडियो