यहूदियामा हुने प्रेरित र भाइहरूले अन्यजातिहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भन्ने सुने। जब पत्रुस यरूशलेममा आए, तब खतना गर्नेहरूको दलले तिनीसित यसो भन्दै तिनको आलोचना गरे, “खतना नगर्ने मानिसहरूकहाँ गएर तिनीहरूसँग तपाईंले किन खानपान गर्नुभयो?” तब पत्रुसले क्रमैसँग तिनीहरूलाई व्याख्या दिन थाले: “म योप्पा सहरमा प्रार्थना गर्दैथिएँ, र ध्यान-मग्न थिए, तब एउटा ठूलो तन्नाजस्तो चार कुनामा समाती तल झरिराखेको केही थोक मैले दर्शनमा देखें, र त्यो मकहाँ आयो। मैले नियालेर हेर्दा त्यहाँ पृथ्वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्तु र आकाशका चराचुरुङ्गीहरू देखें। मलाई यसो भनेको एउटा आवाज मैले सुनें, ‘पत्रुस उठ, र मारेर खाऊ।’ “तर मैले भनें, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्यै परेको छैन।’ “तर त्यस आवाजले दोस्रो पल्ट स्वर्गबाट मलाई भन्यो, ‘जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन।’ तीन पल्ट त्यस्तै भयो, र ती सबै फेरि स्वर्गमा लगिए। “त्यति नै बेला कैसरियाबाट मकहाँ पठाइएका तीन जना मानिसहरू हामी बसेको घरमा आइपुगे। नहिचकिचाई तिनीहरूका साथमा जान मलाई पवित्र आत्माले भन्नुभयो। यी छ जना भाइहरू पनि मेरो साथ लागेका थिए, र हामी त्यस मानिसको घरमा पस्यौं। उनले हामीलाई बताए, कि एउटा स्वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। उनले तिमीलाई वचन सुनाउनेछन्, जसद्वारा तिमीले उद्धार पाउनेछौ— तिमी र तिम्रा सारा परिवारले।’ “जब मैले बोल्न थालें, तब सुरुमा हामीमाथि ओर्लनुभएकोजस्तै पवित्र आत्मा तिनीहरूमाथि पनि ओर्लनुभयो। तब प्रभुले भन्नुभएको त्यो वचन मलाई याद भयो, ‘यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।’ प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा परमेश्वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्यही वरदान दिनुभएपछि परमेश्वरलाई रोक्न सक्ने म को हुँ र?” यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे, “अब त परमेश्वरले अन्यजातिहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएछ।”
प्रेरित 11 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 11:1-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू