प्रेरित 10:37-48

प्रेरित 10:37-48 NNRV

यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो, कि परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्‍मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्‌नुभयो, किनकि परमेश्‍वर उहाँको साथमा हुनुहुन्‍थ्‍यो। “अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे। उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्‍वरले साक्षीको रूपमा छान्‍नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्‍यौं। उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्‍यायकर्ता हुनलाई परमेश्‍वरद्वारा नियुक्त हुनुभएको व्‍यक्ति हुनुहुन्‍छ भन्‍ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।” पत्रुसले यी कुरा बोल्‍दाबोल्‍दै वचन सुन्‍ने सबैमाथि पवित्र आत्‍मा ओर्लनुभयो। अन्‍यजातिहरूमाथि पनि पवित्र आत्‍माको वरदान खन्‍याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू आश्‍चर्यचकित भए। किनकि अन्‍य भाषामा बोलेर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, “हामीझैँ पवित्र आत्‍मा पाउने यिनीहरूलाई पानीको बप्‍तिस्‍मा हुनदेखि कसले मनाही गर्न सक्‍छ?” अनि तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्‍यहीँ रहनुहोस्‌ भनी अनुरोध गरे।

प्रेरित 10:37-48 को लागि भिडियो