तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ। सहर भित्र पसेपछि तिनीहरू माथिल्लो तलाको आफू बस्ने कोठामा उक्ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरो याकूब र उग्रपन्थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए। कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।
ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्या प्राय: एक सय बीस थियो), र भने, “भाइ हो, धर्मशास्त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नुभएको थियो। किनकि त्यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्यसले हिस्सा पाएको थियो।”
त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुन्टो भई खस्यो र त्यसको भुँड़ी फुट्यो, र त्यसका सबै आन्द्रा-भुँड़ी निस्के। यो कुरा यरूशलेमका बासिन्दाहरू सबैलाई थाहा भयो। त्यो जग्गाको नाउँ तिनीहरूको आफ्नो भाषामा आखेल्दामा राखियो, अर्थात् रगतको खेत।
पत्रुसले भने, “किनकि भजनको पुस्तकमा यसो लेखिएको छ,
‘त्यसको वासस्थान उजाड होस्,
र त्यहाँ वास गर्ने कोही नहोस्,
र त्यसको कार्य पदाधिकार अर्कोले लिओस्।’
यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्ये यस्तो एक जना छान्नु आवश्यक छ, जुन व्यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो, अर्थात् यस्तो व्यक्ति जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्म हामीसँग थियो। त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ।”
तिनीहरूले दुई जना, अर्थात् बारसाबास भन्ने योसेफ, जसको कुलनाउँ युस्तस थियो, र मतियासको नाउँ प्रस्ताव गरे। तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्नुहुने प्रभु, यी दुईमध्ये तपाईंले कसलाई चुन्नुभएको छ सो हामीलाई देखाउनुहोस्, र त्यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा मर्यो।” अनि तिनीहरूले ती दुईका बीचमा गोला हाले, र मतियासको नाउँमा पर्यो, र एघार प्रेरितहरूसँग तिनको गणना भयो।