२ तिमोथी 2:8-14

२ तिमोथी 2:8-14 NNRV

मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्‍टलाई सम्‍झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो। त्‍यही सुसमाचार, जसको निम्‍ति म कष्‍ट भोगिरहेछु र अपराधीजस्‍तै साङ्‌लामा बाँधिएको छु। तर परमेश्‍वरको वचन त साङ्‌लामा बाँधिँदैन। यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्‍छु, ताकि तिनीहरूले पनि अनन्‍त महिमासहित ख्रीष्‍ट येशूमा भएको मुक्ति प्राप्‍त गर्न सकून्‌। यो भनाइ निश्‍चित छ, यदि हामी उहाँसँग मरेका छौं भने, हामी पनि उहाँसँगै जिउनेछौं, हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्‍य गर्नेछौं, हामीले उहाँलाई इन्‍कार गर्‍यौं भने, उहाँले पनि हामीलाई इन्‍कार गर्नुहुनेछ, हामी अविश्‍वासी छौं भने, उहाँ विश्‍वासयोग्‍य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्‍कार गर्न सक्‍नुहुन्‍न। यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ।