२ तिमोथी 1:1-7

२ तिमोथी 1:1-7 NNRV

ख्रीष्‍ट येशूमा भएका जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट, मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति। जब म तिमीलाई निरन्‍तर आफ्‍ना प्रार्थनाहरूमा सम्‍झन्‍छु, म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। तिम्रो आँसु सम्‍झँदा रातदिन तिमीलाई भेट्‌ने मेरो उत्‍कट इच्‍छा हुन्‍छ, र म आनन्‍दले भरिन सकूँ। मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ। त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख। किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।