२ शमूएल 7:18-29

२ शमूएल 7:18-29 NNRV

तब दाऊद राजा परमप्रभुको उपस्‍थितिमा हाजिर भए, र त्‍यहाँ बसेर भने: “हे परमप्रभु परमेश्‍वर, म को हुँ, मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभयो? यो सबैचाहिँ तपाईंको दृष्‍टिमा एउटा सानो विषयजस्‍तो ठानेर तपाईंले त आफ्‍नो दासलाई त्‍यसको घरानाको भविष्‍य नै बताइदिनुभयो। हे परमप्रभु परमेश्‍वर, के यो सब तपाईंले सधैँ नै गर्ने व्‍यवहार हो र? “अनि अब दाऊद अरू बढ्‌ता के भन्‍न सक्‍छ र? किनभने तपाईंले आफ्‍नो दासलाई राम्ररी चिन्‍नुहुन्‍छ, हे परमप्रभु परमेश्‍वर! तपाईंका वचनको खातिर र आफ्‍नो इच्‍छाअनुसार नै तपाईंले यो महान्‌ काम गर्नुभएको छ र आफ्‍नो दासलाई यो बताउनुभएको छ। “हे परमप्रभु परमेश्‍वर, तपाईं साँच्‍चै महान्‌ हुनुहुन्‍छ। तपाईंजस्‍तै अरू कसैको विषयमा हामीले कहिल्‍यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्‍वर छैन। अनि तपाईंको आफ्‍नै जाति इस्राएलजस्‍तो अरू को छ? पृथ्‍वीको एउटा त्‍यस जातिलाई परमेश्‍वरले नै आफ्‍नो निम्‍ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्‍नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्‍नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान्‌ डरलाग्‍दा र उदेकका कार्यहरू गर्नुभयो। तपाईंले आफ्‍नै प्रजा इस्राएललाई सदासर्वदाको निम्‍ति आफ्‍नै तुल्‍याउनलाई स्‍थिर गर्नुभएको छ, अनि हे परमप्रभु, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ। अब हे परमप्रभु परमेश्‍वर, आफ्‍नो दास र त्‍यसको घरानासित गर्नुभएको प्रतिज्ञाअनुसार सधैँभरि गर्नुहोस्‌। तपाईंले भन्‍नुभएजस्‍तै गर्नुहोस्, ताकि तपाईंको ख्‍याति सदासर्वदै महान्‌ होस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान्‌ परमप्रभु इस्राएलमाथि परमेश्‍वर हुनुहुन्‍छ।’ अनि आफ्‍नो दास दाऊदको घराना तपाईंको सामु स्‍थिर भइरहनेछ। “हे सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई, मलाई, यसो भनेर आफ्‍नो अभिप्राय देखाउनुभयो, ‘म तेरो निम्‍ति एउटा घरानाको निर्माण गर्नेछु’। यसैकारण साहससँग म तपाईंकहाँ यो प्रार्थना चढ़ाइरहेछु। हे परमप्रभु परमेश्‍वर, तपाईं परमेश्‍वर हुनुहुन्‍छ। तपाईंका वचन विश्‍वासयोग्‍य छन्, अनि तपाईंले आफ्‍नो दाससँग यी उत्तम प्रतिज्ञाहरू गर्नुभएको छ। यसैले अब आफ्‍नो दासको घरानालाई आशिष्‌ दिनुहोस्, र त्‍यो तपाईंको नजर अगि रहिरहोस्‌। किनकि हे परमप्रभु परमेश्‍वर, तपाईंले बोल्‍नुभएको छ, र तपाईंका आशिष्‌द्वारा नै तपाईंको दासको घरानाले सदासर्वदाको आशिष्‌ पाउनेछ।”