२ शमूएल 6:1-11

२ शमूएल 6:1-11 NNRV

त्‍यसपछि दाऊदले इस्राएलका तीस हजार चुनिएका मानिसहरूलाई बोलाए, र यी सबै मानिसहरूका साथमा परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई यहूदाको बालाबाट दाऊद निस्‍केर गए, त्‍यो सन्‍दूक जसलाई करूबहरूका बीचमा विराजमान हुनुभएका सर्वशक्तिमान्‌ परमप्रभुको नाउँद्वारा डाकिएको थियो। तिनीहरूले परमेश्‍वरको सन्‍दूक एउटा नयाँ गाड़ामा राखे, र डाँड़ामा भएको अबीनादाबको घरबाट ल्‍याए, र अबीनादाबका छोराहरू उज्‍जाह र अहियोले गाड़ालाई हाँक्‍दै लगे। तिनीहरूले परमेश्‍वरको सन्‍दूक गाड़ामा राखेर लगे, अनि अहियोचाहिँ त्‍यसको अगिअगि हिँड़े। दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्‍दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्‍यालीको सुरमा रमाहट गर्दैथिए। जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले आफ्‍नो हात बढ़ाएर परमेश्‍वरको सन्‍दूकलाई थामे। तर परमप्रभु उज्‍जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्‍तो लापरवाहीको निम्‍ति उहाँले तिनलाई त्‍यहाँ मार्नुभयो। यसरी तिनी परमेश्‍वरका सन्‍दूकको छेउमा मरे। परमप्रभु यसरी उज्‍जाहमाथि क्रोधित हुनुभएकोमा दाऊद रिसाए, र तिनले त्‍यस ठाउँको नाउँ फारेस-उज्‍जाह राखे। त्‍यसको नाउँ आजसम्‍म त्‍यही छ। त्‍यस दिन दाऊद परमप्रभुसँग डराए, र भने, “अब परमप्रभुको सन्‍दूक म आफूसँग कसरी राख्‍न सकुँला?” परमप्रभुको सन्‍दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्‌। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्‍दूक पुर्‍याए। यसरी परमप्रभुको सन्‍दूक ओबेद-एदोमको घरमा तीन महिनासम्‍म रह्यो, अनि परमप्रभुले ओबेद-एदोम र तिनका सबै घरानालाई आशिष्‌ दिनुभयो।