२ शमूएल 5:1-10

२ शमूएल 5:1-10 NNRV

तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड़ र मासु हौं।” अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लड़ाइँमा लाने र फर्काएर ल्‍याउने गर्नुहुन्‍थ्‍यो। अनि परमप्रभुले तपाईंलाई भन्‍नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्‌। तँ तिनीहरूको राजा हुनेछस्‌’।” तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्‍यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्‍ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे। दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्‍म राज्‍य गरे। तिनले हेब्रोनमा यहूदामाथि साढ़े सात वर्ष अनि यहूदा र इस्राएल दुवैमाथि यरूशलेममा तेत्तीस वर्ष राज्‍य गरे। त्‍यसपछि दाऊद राजा र तिनका मानिसहरू यरूशलेममा बस्‍ने यबूसीहरूलाई आक्रमण गर्न गए। यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउन सक्‍नुहुन्‍न, अन्‍धा र लङ्गड़ाहरूले पनि तपाईंलाई भगाउन सक्‍नेछन्‌।” उनीहरूको विचार यही थियो कि दाऊद कहिल्‍यै भित्र आउन सक्‍नेछैनन्‌। तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले। त्‍यस दिन दाऊदले भने, “हरेक जसले यबूसीहरूलाई जित्‍छ, त्‍यसले दाऊदका शत्रु ‘अन्‍धा र लङ्गड़ाहरूलाई’ पानीको नालबाट पसेर भेट्टाउनुपर्नेछ।” त्‍यसैकारण तिनीहरू भन्‍छन्, “कुनै ‘अन्‍धा र लङ्गड़ा’ महलमा आउनेछैनन्‌।” दाऊद त्‍यही गढ़ीमा बस्‍न लागे, र त्‍यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए। अनि दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्‍यो।