२ शमूएल 20:15-19

२ शमूएल 20:15-19 NNRV

योआबको फौज आएर शेबालाई हाबिल-बेथ-माकामा घेर्‍यो, अनि एउटा घेरा-मचान बनायो, जो बाहिरी पर्खालको अगाड़ि थियो, र पर्खाल ढाल्‍नलाई तिनीहरूले त्‍यसमाथि प्रहार गर्न लागे। तब एउटी बुद्धिमती स्‍त्री बाहिरको पर्खालमा खड़ा भइन्, र सहरबाट कराएर भनिन्, “सुन्‍नुहोस्‌! सुन्‍नुहोस्‌! योआबलाई आउनू भनिदिनुहोस्, र म उहाँसित कुरा गर्नेछु।” तब योआब अगि आए, र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्‍छ?” तिनले जवाफ दिए, “अँ, म नै हुँ।” तिनले भनिन्, “म तपाईंकी दासीले के कुरा भनिरहेछु सो राम्ररी सुन्‍नुहोस्‌।” तिनले भने, “म सुन्‍दैछु।” तिनले भनिन्, “उहिले त यस्‍तो भनाइ थियो, ‘जवाफ पाउन हाबिल जानु’। अनि त्‍यसरी नै कुराको फैसला हुन्‍थ्‍यो। हाम्रो सहर इस्राएलका सहरहरूमध्‍ये एक शान्‍तिप्रिय र राजभक्त सहर गनिन्‍छ। त्‍यो त इस्राएलमा एउटी आमाजस्‍तै छ, अनि तपाईंचाहिँ त्‍यसलाई नाश गर्न खोज्‍नुहुन्‍छ। तपाईं किन परमप्रभुको सम्‍पत्ति नष्‍ट गर्न चाहनुहुन्‍छ?”