२ शमूएल 12:1-6

२ शमूएल 12:1-6 NNRV

परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो, र तिनी दाऊदको उपस्‍थितिमा हाजिर भएर तिनले भने, “एक पल्‍ट एउटा सहरमा दुई जना मानिस थिए, एक जना धनी र अर्कोचाहिँ गरीब। धनी मानिसका धेरै भेड़ाबाख्राका बगाल र गाई-गोरुका बथान थिए, तर त्‍यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्‍नो भन्‍ने केही थिएन। उसले त्‍यसलाई आफैले पालनपोषण गर्‍यो, र आफ्‍नै घरमा आफ्‍नै छोराछोरीसँग त्‍यो हुर्क्‍यो। त्‍यसले उसकै थालमा खान्‍थ्‍यो, र उसकै कचौरामा पिउँथ्‍यो, र उसकै काखमा सुत्‍दथ्‍यो। त्‍यसलाई उसले आफ्‍नो छोरीलाई जस्‍तै गर्थ्‍यो। “एक दिन एउटा परदेशी त्‍यस धनी मानिसको घरमा आयो, अनि त्‍यस धनी मानिसले पाहुनालाई आफ्‍नै बगाल र बथानबाट केही दिने मन गरेन, तर त्‍यस गरीब मानिसको पाठी ल्‍याएर त्‍यस पाहुनाको निम्‍ति भोजन तयार गर्‍यो।” दाऊदलाई त्‍यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु, कि यस्‍तो काम गर्ने मानिस मृत्‍युको योग्‍य छ! त्‍यसले दयामाया नगरेर यस्‍तो काम गरेबापत त्‍यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।”