भोलिपल्ट बिहान दाऊदले योआबलाई एउटा चिट्ठी लेखेर उरियाहको हातमा पठाए। तिनले चिट्ठीमा लेखे, “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्चिएको छ, त्यहाँ उरियाहलाई पठाएर तिमीहरूचाहिँ पछि हट, र त्यो मरोस्।” यसैकारण जब योआबले सहरलाई घेरा हालेका थिए, तब तिनले उरियाहलाई यस्तो ठाउँमा खटाइदिए, जुन ठाउँमा कड़ा मुकाबिला हुनेछ भनी तिनलाई थाहा थियो। सहरका मानिसहरूले एक्कासि निस्केर योआबसँग लड़ाइँ गर्न लागे, र दाऊदका केही सिपाहीहरू मारिए। हित्ती उरियाह पनि मारियो। तब योआबले दाऊदकहाँ लड़ाइँका सबै समाचारसाथ एक जना मानिसलाई पठाए। त्यो समाचार लाने मानिसलाई योआबले यस्तो आदेश दिए, “तैंले लड़ाइँको सबै हाल राजालाई बताइसकेपछि, राजाले रिसाएर यसो भन्नुभयो भने, ‘लड़ाइँ गर्दा तिमीहरू सहरको त्यति नजिक किन गयौ त? पर्खालबाट काँड़ हान्नेछ भनेर तिमीहरूले जान्नुपर्नेथियो। यरूबबेसेतका छोरा अबीमेलेकलाई कसले मार्यो? तिनलाई एउटी स्त्रीले जाँतोको पाटा पर्खालबाट खसाइदिएर मारेकी थिइन् र? अनि तिनी तेबेसमा मरे, होइन र? तिमीहरू पर्खालको त्यति नजिक किन गयौ?’— उहाँले यसरी सोध्नुभयो भने उहाँलाई यसो भन्नू, ‘हजूरको दास हित्ती उरियाह पनि मर्यो’।” त्यो समाचार लाने मानिस हिड़्यो, र दाऊदकहाँ आयो, र योआबको आज्ञाअनुसार सबै समाचार दियो। त्यसले दाऊदलाई भन्यो, “शत्रुहरू हाम्रा विरुद्धमा खुला फाँटमा जम्मा भए, र हामीलाई मिच्न लागे। तर हामीले उनीहरूलाई सहरको मूल ढोकासम्मै ठेल्दै लग्यौं? त्यहाँ काँड़ चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड़ चलाए, र राजाका कति मानिसहरू मरे। साथै हजूरको दास हित्ती उरियाह पनि मारियो।” दाऊदले त्यस मानिसलाई भने, “योआबलाई यो समाचार लैजा, ‘तिमी नघबराऊ, तरवारले जसरी एक जनालाई मार्छ, अर्कालाई पनि मार्छ। सहरलाई आक्रमण जारी राख, र त्यस सहरलाई ध्वंस-विध्वंस गरिदेऊ’। योआबलाई साहस होस् भनी यो कुरा भन्।” जब उरियाहकी पत्नीले आफ्ना पति मरेको समाचार सुनिन्, तब त्यसको निम्ति तिनले शोक गरिन्। अनि जब शोकको समय पूरा भयो तब दाऊदले मानिसहरू पठाएर तिनलाई आफ्नो घरमा ल्याए। तिनी दाऊदकी पत्नी भइन्, र एक जना छोरो जन्माइन्। तर जे दाऊदले गरेका थिए त्यसमा परमप्रभु अप्रसन्न हुनुहुन्थ्यो।
२ शमूएल 11 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 11:14-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू