२ पत्रुस 3:3-13

२ पत्रुस 3:3-13 NNRV

सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्छ, कि पछिल्‍ला दिनहरूमा गिल्‍ला गर्नेहरू गिल्‍ला गर्दै, तिनीहरूका आफ्‍नै अभिलाषामा यसो भन्‍दै आउनेछन्, “उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्‍टिको सुरुदेखि चलिआएजस्‍तै आज पनि छँदैछ।” जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्‍ता गर्दैनन्, कि परमेश्‍वरको वचनद्वारा स्‍वर्गहरू अघिदेखि नै थिए, र पृथ्‍वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो। त्‍यही पानीबाट त्‍यस समयको संसार जलप्रलयमा डुबेर नष्‍ट भयो। तर त्‍यही वचनले भक्तिहीन मानिसको इन्‍साफ र विनाशका दिनसम्‍मको लागि अहिलेको आकाश र पृथ्‍वी आगोको निम्‍ति साँचिराखिएका छन्‌। तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ। आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ। तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌। यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ? तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌। तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ।