२ पत्रुस 2:1-10

२ पत्रुस 2:1-10 NNRV

जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्‍यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्‌। यिनीहरूले गुप्‍त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्‍याउनेछन्, यहाँसम्‍म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्‍वामीलाई पनि तिनीहरूले इन्‍कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्‍याउनेछन्‌। र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्‍यका मार्गको बदनामी हुनेछ। लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्‌। तिनीहरूका दण्‍डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ। स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो। उहाँले प्राचीन संसारलाई बाँकी राख्‍नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्‍नुभयो। उहाँले सदोम र गमोरा सहरहरूलाई भस्‍म पारेर तिनको अस्‍तित्‍व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो। उहाँले दुष्‍टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो। (ती मानिसहरूका माझमा बस्‍दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्‍दा र सुन्‍दा, तिनी आफ्‍नो धार्मिक आत्‍मामा व्‍याकुल हुन्‍थे।) यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्‍यायको दिनसम्‍म दण्‍डमा जकड़िराख्‍न प्रभु जान्‍नुहुन्‍छ, विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्‍छन्, र अधिकारको अवहेलना गर्छन्‌। यिनीहरू हठी र अहङ्कारी हुन्‍छन्, र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्न डर मान्‍दैनन्‌।