२ पत्रुस 2:1-10

२ पत्रुस 2:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्‍यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्‌। यिनीहरूले गुप्‍त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्‍याउनेछन्, यहाँसम्‍म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्‍वामीलाई पनि तिनीहरूले इन्‍कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्‍याउनेछन्‌। र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्‍यका मार्गको बदनामी हुनेछ। लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्‌। तिनीहरूका दण्‍डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ। स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो। उहाँले प्राचीन संसारलाई बाँकी राख्‍नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्‍नुभयो। उहाँले सदोम र गमोरा सहरहरूलाई भस्‍म पारेर तिनको अस्‍तित्‍व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो। उहाँले दुष्‍टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो। (ती मानिसहरूका माझमा बस्‍दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्‍दा र सुन्‍दा, तिनी आफ्‍नो धार्मिक आत्‍मामा व्‍याकुल हुन्‍थे।) यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्‍यायको दिनसम्‍म दण्‍डमा जकड़िराख्‍न प्रभु जान्‍नुहुन्‍छ, विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्‍छन्, र अधिकारको अवहेलना गर्छन्‌। यिनीहरू हठी र अहङ्कारी हुन्‍छन्, र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्न डर मान्‍दैनन्‌।

शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्

२ पत्रुस 2:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर जसरी मानिसहरूका बीचमा झूटा अगमवक्ताहरू थिए, त्यसरी नै तिमीहरूमध्येमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले गुप्‍तमा झूटा शिक्षाहरू ल्याउनेछन्। तिनीहरूलाई किन्‍नुहुने सार्वभौम प्रभुलाई समेत इन्कार गर्नेछन्; यसरी आफूमाथि चाँडै नाश ल्याउनेछन्। धेरैले आ-आफ्ना भ्रष्‍ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्। त्यसरी नै आफ्नो लोभको कारण तिनीहरूले बनावटी कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्। तिनीहरूका दण्ड लामो समयदेखि तिनीहरूमाथि रहिरहेको छ, र तिनीहरूका विनाश निदाइरहेको छैन। किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो। यदि प्राचीन संसारलाई त उहाँले छोड्नुभएन, तर उहाँले अधर्मी मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो; अनि धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई बचाउनुभयो। उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो; यसरी नै भक्तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्‍ने कुराहरूको एउटा उदाहरण बनाउनुभयो। अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्‍ट जीवनदेखि व्याकुल भएका थिए। (किनकि ती धर्मी मानिस तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।) यदि यसो हो भने धर्मी मानिसहरूलाई सङ्कटबाट मुक्त गर्न र अधर्मीहरूलाई न्यायको दिनको लागि जोगाइराख्न प्रभुले जान्‍नुहुन्छ। यद्यपि तिनीहरूका दण्ड जारी राख्नुहुन्छ। यो विशेष तिनीहरूका सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्‍ट इच्छाहरूलाई पछ्याउँछन् र अधिकारलाई घृणा गर्दछन्। ती मानिसहरू साहसी र हठी छन्; अनि स्वर्गीय प्राणीहरूको निन्दा गर्न तिनीहरू डराउँदैनन्।

शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्

२ पत्रुस 2:1-10 पवित्र बाइबल (NERV)

विगत समयमा झूटा अगमवक्ताहरू परमेश्वरका मानिसहरूको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरू तिमीहरूको समूहमा रहन्छन्। तिनीहरूले झूटा शिक्षाहरू दिन्छन्, ती शिक्षाहरूले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरूले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरूकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरू स्वयंलाई चाँडै ध्वंश पार्नेछन्। धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुशरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरू मानिसहरूले आलोचना गर्छन्। ती झूटा शिक्षकहरूले तिमीहरूबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरूले तिमीहरूलाई झूटा कथाहरू भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरूको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरूलाई ध्वंश पार्नु हुनेछ तिनीहरू उम्कन पाउने छैनन्। जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अँहँ! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगरुन्जेल त्यहीं राख्नेछन् अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरूले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरूलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरूलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे। अनि परमेश्वरले दुष्ट नगरहरू सदोम अनि गमोरालाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरूमाथि उदाहरण स्वरुप उपयोग गर्नुभयो। तर परमेश्वरले ती नगरहरूबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए। लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दु:खी भएको थियो। हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरूलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरूलाई कसरी अड्काउनु पर्छ। जो मानिसहरू तिनीहरूको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरू जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरूलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ। यी झूटा शिक्षकहरू आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरू स्वयं गर्व गर्छन्। तिनीहरू महिमामय स्वर्गदूतहरूको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।

शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्

२ पत्रुस 2:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उहिले इस्राएली मानिसहरूका माझमा झूटा अगमवक्ताहरू निस्‍के, त्‍यसरी नै तिमीहरूको माझमा पनि झूटा गुरुहरू आउनेछन्। तिनीहरूले बिगार्ने झूटो शिक्षा दिनेछन् अनि आफूलाई उद्धार दिनुहुने प्रभुलाई पनि त्‍याग्‍नेछन्। यसकारण तिमीहरूले आफैंमाथि अचानक नाश ल्‍याउनेछन्। धेरैले तिनीहरूको घिनलाग्‍दो बाटो पैल्‍याउनेछन् अनि तिनीहरूको कामले गर्दा मानिसहरूले सत्‍यको बाटोको पनि विरोध गर्नेछन्। लोभ-लालचमा परेर ती झूटा शिक्षकहरूले कुरा बनाएर नै तिमीहरूबाट फाइदा लिनेछन्। पहिले नै तिनीहरूको न्‍याय भइसकेको छ र तिनीहरूको नाश हुने नै छ। परमेश्‍वरले पाप गर्ने स्‍वर्गदूतहरूलाई समेत बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फाल्‍नुभयो। त्‍यहाँ तिनीहरू अन्‍धकारमा बाँधिएर ठूलो न्‍यायको दिनसम्‍मलाई राखिएका छन्। परमेश्‍वरले उहिलेको संसारलाई समेत बाँकी राख्‍नुभएन। परमेश्‍वरलाई नटेर्नेहरूलाई बाढी ल्‍याएर स्‍वाहा पार्नुभयो। खालि धार्मिकता प्रचार गर्ने नोआ र उनका सात जना मानिस बचाइए। परमेश्‍वरले सदोम र गमोरालाई न्‍याय गरेर आगोले भस्‍म गर्नुभयो। यसरी परमेश्‍वरलाई नमान्‍नेको गति कस्‍तो हुँदोरहेछ, यो त्‍यसको एउटा नमुना भयो। परमेश्‍वरले आफ्‍ना अघि ठीक ठहरिएका लोतलाई चाहिँ जोगाउनुभयो। उनले छाडा मानिसहरूका घिनलाग्‍दा चालचलनबाट दु:ख पाएका थिए। ती असल मानिस यस्‍ताहरूका बीच बसेका थिए र दिनहुँ त्‍यस्‍ता नराम्रा कुराहरू देखे, सुने अनि उनको सोझो मन मानिसहरूका नराम्रा कामबाट छियाछिया भयो। यसैकारण भक्तहरूलाई आपत्‌का दिनमा जोगाउन अनि दुष्‍टहरूलाई सजाय दिन इन्‍साफको दिनसम्‍म साँचेर राख्‍न प्रभुले जान्‍नुहुन्‍छ। विशेषगरी परमेश्‍वरको अधिकारलाई हेला गर्ने अनि आफैं घिनलाग्‍दा छाडा भएर हिँड्‍नेहरू इन्‍साफको दिनसम्‍म साँचिनेछन्। यस्‍ता झूटा शिक्षा दिनेहरू हठी र घमण्‍डी हुन्‍छन् अनि स्‍वर्गीय प्राणीहरूको इज्‍जत पनि गर्दैनन्। बरु बेइज्‍जती गर्छन्।

शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्