२ पत्रुस 1:16-21

२ पत्रुस 1:16-21 NNRV

किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्ततासँग रचिएका दन्‍त्‍यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभव प्रत्‍यक्ष देख्‍ने हामी साक्षी हौं। उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब त्‍यस तेजस्‍वी महिमाबाट एउटा वाणी निस्‍किआयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु।” त्‍यस पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्‍वर्गबाट आएको त्‍यो वाणी हामी आफैले सुनेका थियौं। हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्‍चित भएको छ। झिसमिसे उज्‍यालो नहोउञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्‍जेल अन्‍धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्‍यस वचनलाई ध्‍यान दियौ भने असल गर्नेछौ। सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्दछ, कि पवित्रधर्मशास्‍त्रको कुनै अगमवाणी व्‍यक्तिगत व्‍याख्‍याको विषय होइन। किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।