२ राजाहरू 20:1-6

२ राजाहरू 20:1-6 NNRV

ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ: तेरो घरलाई ठीकठाक पार्, किनभने तँ मर्नेछस्‌। तँ निको हुनेछैनस्‌।” तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढ़ाए, “हे परमप्रभु, सम्‍झना राख्‍नुहोस्, म तपाईंको सामुन्‍ने कस्‍तो विश्‍वास र सम्‍पूर्ण हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यो गरेको छु।” अनि हिजकिया धुरुधुरु रोए। यशैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनीकहाँ आयो: “फर्केर मेरो प्रजाको अगुवालाई भन्, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्‍दिरमा जानेछस्‌। म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु। अनि तँलाई र यस सहरलाई अश्‍शूरको राजाको हातबाट छुटाउनेछु। मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यस सहरको रक्षा गर्नेछु’।”