२ कोरिन्थी 8:1-8

२ कोरिन्थी 8:1-8 NNRV

भाइ हो, माकेडोनियाका मण्‍डलीहरूमा परमेश्‍वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्‍छौं। कष्‍टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्‍त आनन्‍द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए। किनकि म गवाही दिन्‍छु, कि तिनीहरूले आफ्‍नो औकातअनुसार र औकातभन्‍दा बढ़ी पनि आफ्‍नै राजीखुशीले दिए। तिनीहरूले सन्‍तहरूका सहायताको निम्‍ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्‍ती गरे। हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्‍वरको इच्‍छाअनुसार हामीलाई दिए। यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्‍यो असल काम समाप्‍त गरून्‌ भनेर हामीले तिनलाई बिन्‍ती गर्‍यौं। तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात्‌ विश्‍वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्‍यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्‍त होओ। मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्‍ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ।