२ कोरिन्थी 7:4-9

२ कोरिन्थी 7:4-9 NNRV

तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म सान्‍त्‍वनाले परिपूर्ण छु। हाम्रा सबै कष्‍टहरूमा म अति आनन्‍दित छु। किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई सङ्कष्‍ट आइपरेको थियो, बाहिर सङ्घर्ष र भित्र डरैडर थियो। तर उदासीहरूलाई सान्‍त्‍वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनद्वारा हामीलाई सान्‍त्‍वना दिनुभयो। तिनको आगमनले मात्र होइन, तर त्‍यस सान्‍त्‍वनाले पनि, जुन सान्‍त्‍वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्‌ने तिमीहरूको ठूलो इच्‍छाको बारेमा तिनले हामीलाई भने। मेरो निम्‍ति तिमीहरूको शोकको विषयमा र मप्रति तिमीहरूको गहिरो चिन्‍ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढ़ी आनन्‍दित भएँ। मैले आफ्‍नो पत्रबाट तिमीहरूलाई शोकित तुल्‍याएको भए तापनि म पछुतो गर्दिनँ, हुन त मलाई पछितो भएकै थियो। मलाई थाहा भयो, कि त्‍यस पत्रले तिमीहरूलाई थोरै समयको निम्‍ति मात्र भए पनि शोकित तुल्‍यायो। तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्‍वरीय शोकको अनुभव गर्‍यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्‍सानी सहनुपरेन।