२ कोरिन्थी 5:10-17

२ कोरिन्थी 5:10-17 NNRV

किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्‍वरले जान्‍नुहुन्‍छ, र म आशा गर्दछु, त्‍यो तिमीहरूका विवेकमा पनि प्रष्‍टै होला। हामी फेरि तिमीहरूका सामु आफ्‍नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्‍ड गर्छन्‌। यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्‍वरको निम्‍ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्‍ति हो। ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य गराउँछ, किनभने हामीलाई यो निश्‍चय छ, कि सबैका निम्‍ति एक जना मर्नुभएको हुनाले सबै मरे। उहाँ सबैका निम्‍ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्‍नै निम्‍ति बाँच्‍ने होइन, तर उहाँको निम्‍ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो। यसरी अब उप्रान्‍त हामी कसैलाई मानिसको दृष्‍टिकोणले हेर्दैनौं। हामीले ख्रीष्‍टलाई एक समय मानिसको दृष्‍टिकोणले हेरेका थियौं, तर अब उप्रान्‍त उहाँलाई त्‍यसरी हेर्नेछैनौं। यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।