२ कोरिन्थी 4:1-10

२ कोरिन्थी 4:1-10 NNRV

यसकारण परमेश्‍वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं। हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्‍यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्‍वरको वचनलाई हेरफेर गर्न इन्‍कार गर्छौं। तर सत्‍यको वचन खुलस्‍त गरी घोषणा गर्दै परमेश्‍वरको दृष्‍टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्‍य तुल्‍याउँछौं। हाम्रो सुसमाचार घुम्‍टोले ढाकिएको भए तापनि यो नष्‍ट हुनेहरूका निम्‍ति मात्र घुम्‍टोले ढाकिएको छ। तिनीहरूका विषयमा भनौं भने ख्रीष्‍ट, जो परमेश्‍वरको रूप हुनुहुन्‍छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझलाई अन्‍धो तुल्‍याइदिएको छ। हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनी प्रचार गर्दछौं। जुन परमेश्‍वरले “अँध्‍यारोबाट ज्‍योति चम्‍कोस्‌” भन्‍नुभयो, उहाँ हाम्रा हृदयमा चम्‍कनुभएको छ, ताकि परमेश्‍वरका महिमाको ज्ञानको ज्‍योति ख्रीष्‍टको मुहारमा चम्‍कोस्‌। सर्वश्रेष्‍ठ शक्ति हाम्रो होइन तर परमेश्‍वरको हो भनी प्रष्‍ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ। हामी सबैतिरबाट कष्‍टित छौं, तर किचिएका छैनौं। अन्‍योलमा परेका छौं, तर हताश भएका छैनौं। सताइएका छौं, तापनि त्‍यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्‍ट पारिएका छैनौं। येशूको जीवन हाम्रा शरीरमा प्रकट होस्‌ भनेर हामी उहाँको मृत्‍यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्‌छौं।