२ कोरिन्थी 2:1-13

२ कोरिन्थी 2:1-13 NNRV

तिमीहरूलाई कष्‍ट दिन अर्को पल्‍ट फेरि नआउने नै मैले निश्‍चय गरें। किनकि मैले तिमीहरूलाई दुःखित तुल्‍याएँ भने मैले दुःखित तुल्‍याएको त्‍यस मानिसबाहेक अरू कसले मलाई खुशी तुल्‍याउने र? र मैले जे कुरा लेखें, त्‍यो यस हेतुले लेखें, कि म आउँदा जुन व्‍यक्तिहरूद्वारा मैले आनन्‍द पाउनुपर्नेथियो तिनीहरूद्वारा म दुःखित नहोऊँ। किनकि मेरो आनन्‍द तिमीहरू सबैको आनन्‍द हुन्‍छ भन्‍ने मलाई तिमीहरू सबैका बारे भरोसा थियो। किनभने तिमीहरूलाई दुःखी तुल्‍याउन होइन, तर तिमीहरूप्रति भएको मेरो प्रशस्‍त प्रेम तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें। तर कसैले दुःखी तुल्‍याएको छ भने उसले मलाई होइन, तर साह्रै कड़ा गरी नभन्‍ने हो भने, तिमीहरू सबैलाई केही हदसम्‍म दुःखी तुल्‍याएको छ। त्‍यस्‍तालाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ। तर बरु तिमीहरूले त्‍यसलाई क्षमा गर्नु र सान्‍त्‍वना दिनुपर्छ, नत्रता त्‍यो ज्‍यादै शोकमा डुबिजाला। यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु, कि त्‍यस व्‍यक्तिप्रति आफ्‍नो प्रेम अझ गहिरो पार। यसैकारणले नै तिमीहरूलाई जाँच्‍न, र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्‍ने थाहा पाउनका निम्‍ति मैले तिमीहरूलाई लेखेथें। जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्‍टको उपस्‍थितिमा क्षमा गरेको छु, ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्‍यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं। ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो, तर मेरो भाइ तीतसलाई त्‍यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे।