२ कोरिन्थी 1:12-24

२ कोरिन्थी 1:12-24 NNRV

यस कुरामा हामी गर्व गर्छौं, अनि हाम्रो विवेकले पनि त्‍यसको गवाही दिन्‍छ, कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्‍बन्‍धमा हामी पवित्रता र ईश्‍वरीय सत्‍यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहबाट हो। किनकि तिमीहरूले पढ्‌न र बुझ्‍न नसक्‍ने केही कुरा हामी तिमीहरूलाई लेख्‍दैनौं, र म आशा गर्दछु, कि तिमीहरूले पूर्ण रूपले बुझ्‍नेछौ, कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्‍यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्‍पूर्ण प्रकारले बुझ्‍नेछौ, र तिमीहरू हाम्रा निम्‍ति गर्व गर्न सक्‍नेछौ, जसरी हामी तिमीहरूका निम्‍ति गर्व गर्न सक्‍नेछौं। यो कुराको मलाई निश्‍चय भएको हुनाले, तिमीहरूलाई दोहोरो फाइदा होस्‌ भनेर तिमीहरूकहाँ पहिले आउने मैले इच्‍छा गरें। माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्‍यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्‍ने म चाहन्‍थे। यो गर्न चाहँदा मैले अस्‍थिरता देखाएँ र? के मैले आफ्‍नो योजना बनाउँदा सांसारिक मानिसले जस्‍तो एउटै मुखले “हो” र “होइन” पनि भन्‍ने हुँ र? परमेश्‍वर विश्‍वासयोग्‍य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन। किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ। किनकि परमेश्‍वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्‍छ। यसैकारण उहाँद्वारा परमेश्‍वरका महिमाको निम्‍ति हामी “आमेन” भन्‍छौं। तर हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले हामीमाथि आफ्‍नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ। परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्‍थमा आइनँ। तिमीहरूको विश्‍वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्‍दको निम्‍ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्‍नो विश्‍वासमा तिमीहरू स्‍थिर छौ।