२ इतिहास 20:5-12

२ इतिहास 20:5-12 NNRV

यहूदा र यरूशलेमका सभाको सामुन्‍ने परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने: “हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं नै स्‍वर्गमा विराजमान हुनुहुने परमेश्‍वर हुनुहुन्‍न? तपाईं जाति-जातिका सबै राज्‍यहरूमा शासन गर्नुहुन्‍छ। तपाईंकै हातमा शक्ति र बल छन्‌। तपाईंको सामना गर्ने कोही छैन। हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र आफ्‍ना मित्र अब्राहामका सन्‍तानलाई सदासर्वदाको निम्‍ति त्‍यो दिनुभएको होइन? तिनीहरू त्‍यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्‍ति यसो भनेर एउटा वासस्‍थान बनाएका छन्, ‘यदि विपत्ति हामीमाथि आइलाग्‍यो भने, अर्थात्‌ न्‍यायको तरवार वा रूढ़ी वा अनिकाल पर्‍यो भने, हामी यस मन्‍दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्‍ने खड़ा हुनेछौं। अनि हामी आफ्‍नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्‍ती सुनेर हामीलाई बचाउनुहुनेछ’। “मिश्रदेशबाट आउँदा तपाईंले इस्राएललाई अम्‍मोनी र मोआबीहरू र सेइर पर्वतका मानिसहरूको देशमा पस्‍न मनाही गर्नुभएको थियो, र यसैले उनीहरू यहाँ आएका छन्‌। इस्राएलीहरूले उनीहरूलाई त्‍यसै छोड़िदिए, र उनीहरूलाई नाश गरेनन्‌। तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्‍तो बदला दिइरहेछन्‌। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्‍गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्‌। हे हाम्रा परमेश्‍वर, उनीहरूको न्‍याय तपाईं गर्नुहुन्‍न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्‍य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हामी आफ्‍ना आँखा तपाईंतिर उठाउँछौं।”