२ इतिहास 20:31-37

२ इतिहास 20:31-37 NNRV

यसरी यहोशापातले यहूदामाथि राज्‍य गरे। राजगद्दी आरोहण गर्दा तिनी पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌। तिनी आफ्‍ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्‌। परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो त्‍यही तिनले गरे। तर डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्‍नो मन लाएनन्‌। यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्‌। ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा गाभिएका छन्‌। पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता बाँधे, जो दुष्‍टताको दोषी थिए। व्‍यापार गर्नलाई जहाजहरू बनाउनका निम्‍ति तिनले अहज्‍याहसित सम्‍बन्‍ध राखे। यी जहाजहरू एस्‍योन-गेबेरमा बनाइसकेपछि, मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा यो अगमवाणी कहे, “तपाईंले अहज्‍याहसँग मित्रता बाँध्‍नुभएको हुनाले परमप्रभुले तपाईंको काम निष्‍फल तुल्‍याउनुहुनेछ।” अनि ती जहाजहरू नष्‍ट भएर व्‍यापार गर्नलाई यात्रा गर्न पाएनन्‌।