दासत्वका जुवामुनि हुने सबैले आ-आफ्ना मालिकलाई पूरा सम्मानको योग्य ठानून्, ताकि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्। विश्वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्वासमा दाजुभाइ भन्दैमा अनादर नगरून्। बरु तिनीहरूले उनीहरूको झन् बढ़ी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्यहरू पालन गर्न सिकाऊ, र आग्रह गर। यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने, त्यो घमण्डले फुलेको हुन्छ, र त्यसले केही जानेको हुँदैन। त्यसले व्यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्द लिएर झगड़ा गर्न खोजिहिँड्छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन्, र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्। सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं। तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं। तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।
१ तिमोथी 6 पढ्नुहोस्
सुन्नुहोस् १ तिमोथी 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ तिमोथी 6:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू