१ तिमोथी 1:12-20

१ तिमोथी 1:12-20 NNRV

मलाई सामर्थ्‍य दिनुहुने ख्रीष्‍ट येशू हाम्रा प्रभुलाई म धन्‍यवाद दिन्‍छु, किनभने आफ्‍नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्‍वासयोग्‍य ठान्‍नुभयो। अगाडि मैले निन्‍दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्‍वासमा गरेको हुनाले मैले कृपा पाएँ। ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ मेरो निम्‍ति हाम्रा प्रभुको अनुग्रह प्रशस्‍त मात्रामा उर्लिआयो। यो वचन हरप्रकारले ग्रहणयोग्‍य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्‍ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्‍दा मुख्‍य हुँ। तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा सबैभन्‍दा मुख्‍य भएर पनि मद्वारा येशू ख्रीष्‍टले आफ्‍नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्‍वास गरेर अनन्‍त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्‍न सकूँ। युग-युगका राजा, अविनाशी र अदृश्‍य एकमात्र परमेश्‍वरलाई आदर र महिमा सदासर्वदा होस्‌। आमेन। मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु, कि तिम्रो सम्‍बन्‍धमा अघि कहिएको अगमवाणीअनुसार तीद्वारा प्रेरणा पाएर विश्‍वास र असल विवेक कायम राख्‍दै तिमी असल लड़ाइँ लड्‌न सक। विश्‍वास र स्‍वच्‍छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्‍कार गरेर आफ्‍नो विश्‍वासको जहाज डुबाएका छन्‌। तीमध्‍ये हुमेनियस र अलेक्‍जेन्‍डर हुन्, जुनहरूलाई निन्‍दा नगर्नू भन्‍ने कुरा सिकून्‌ भनेर मैले शैतानको हातमा सुम्‍पेको छु।