१ थेसलोनिकी 2:13-20

१ थेसलोनिकी 2:13-20 NNRV

यसकारण यसको निम्‍ति हामी पनि परमेश्‍वरलाई निरन्‍तर धन्‍यवाद चढ़ाउँछौं, कि तिमीहरूले हामीबाट सुनेका वचन, जो वास्‍तवमा परमेश्‍वरको वचन हो, सो तिमीहरूले मानिसको वचनजस्‍तै होइन, तर परमेश्‍वरको वचनजस्‍तै ग्रहण गर्‍यौ, जुन वचनले तिमी विश्‍वासीहरूमा काम गर्दछ। किनकि भाइ हो, ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्‍डलीहरूको अनुकरण गर्ने तिमीहरू भयौ, किनकि आफ्‍नै देश-भाइहरूबाट तिमीहरूले जसरी दुःख भोग्‍यौ, त्‍यसरी तिनीहरूले यहूदीहरूबाट दुःख भोगेका थिए। यी यहूदीहरूले नै प्रभु येशू ख्रीष्‍टलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि बाहिर धपाए, र परमेश्‍वरलाई अप्रसन्‍न तुल्‍याउँछन्, अनि सबै मानिसहरूको विरोध गर्छन्‌। अन्‍यजातिहरूको उद्धार होस्‌ भनेर तिनीहरूसँग बोल्‍नमा हामीलाई बाधा दिए। यसरी सधैँ उनीहरू आफ्‍नो पापको नापो भर्छन्‌। तर अन्‍त्‍यमा परमेश्‍वरको क्रोध तिनीहरूमाथि परेको छ। किनकि भाइ हो, हृदयबाट होइन, तर आँखाको सोझो तिमीहरूसँग अल्‍प समयको निम्‍ति बिछोड भएका हुनाले, उत्‍कट इच्‍छाले तिमीहरूलाई आमनेसामने भेट गर्न उत्‍सुकतासाथ हामीले चेष्‍टा गर्‍यौं। किनकि हामी तिमीहरूकहाँ आउन खोजेका थियौं— म पावलचाहिँ बारम्‍बार आउन चाहें— तर शैतानले हामीलाई रोक्‍यो। हाम्रा प्रभु येशू जब आउनुहुन्‍छ, त्‍यस बेला उहाँको सामुन्‍ने हाम्रो आशा वा आनन्‍द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र? निश्‍चय हाम्रो गौरव र आनन्‍द तिमीहरू नै हौ।