१ थेसलोनिकी 1:1-10

१ थेसलोनिकी 1:1-10 NNRV

पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई: अनुग्रह र शान्‍ति। हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्‍तर स्‍मरण गर्दै हामी परमेश्‍वरलाई तिमीहरू सबैका निम्‍ति धन्‍यवाद दिन्‍छौं। हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्‍तर सम्‍झन्‍छौं। भाइ हो, परमेश्‍वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्‍नुभएको हामीलाई थाहा छ, किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्‍मामा, अनि सम्‍पूर्ण निश्‍चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्‍ता किसिमका मानिस थियौं तिमीहरू जान्‍दछौ। तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्‍माले दिनुभएको आनन्‍दसाथ तिमीहरूले धेरै कष्‍टमा वचन ग्रहण गर्‍यौ। यहाँसम्‍म कि माकेडोनिया र अखैयामा सबै विश्‍वासीहरूका माझमा तिमीहरू नमूना बन्‍यौ। किनकि तिमीहरूद्वारा परमेश्‍वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्‍वरमाथिका तिमीहरूको विश्‍वास प्रत्‍येक स्‍थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्‍नु आवश्‍यक छैन। किनकि जुन किसिमले हाम्रो स्‍वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्‍वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्‍वरतर्फ फर्क्‍यौ, सो त मानिसहरूले नै बताउँछन्‌। अनि स्‍वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात्‌ येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्‍छ।